महामन्त्री र कोषाध्यक्षमा संस्थापन
फाल्गुन २५, २०७२- कांग्रेस महान्त्रीमा सशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएका छन् । दुवै सभापतिमा पराजित रामचन्द्र पौडेल समूहबाट उम्मेदवार भएका थिए ।
१३ औं महाधिवेशनमा भएको निर्वाचनमा अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै सशांक महामन्त्री निर्वाचित भएका हुन् । यस्तै, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीलाई हराउँदै सीतादेवी कोषाध्यक्ष निर्वाचित भएकी हुन् ।
महामन्त्रीमा निर्वाचित कोइरालाले १४१७ मत पाएका छन् । केसीले १०१७ र गगन थापाले ५८४ मत पाए । कोइराला सभापतिमा पराजित रामचन्द्र पौडेल समूहबाट उम्मेदवार भएका हुन् । केसी नवनिर्वाचित सभापति शेरबहादुर देउवा र थापा कृष्णप्रसाद सिटौला समूहबाट चुनाव लडेका थिए ।
कोषाध्यक्षमा निर्वाचित सीतादेवीले १२१७ मत पाउँदा चित्रलेखाले १२०९ उमाकान्तले ४५७ र कृष्णले ६६ मत पाएका छन् । निवर्तमान कोषाध्यक्षसमेत रहेकी चित्रलेखा देउवा, उमाकान्त सिटौला र कार्की स्वतन्त्र उम्मेदवार भएका थिए । सीतादेवी र चित्रलेखा दुवै सिरहा निवासी हुन् ।
सभापतिमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतले हराउँदै देउवा सभापति निर्वाचित भएका थिए ।
को हुन् सशांक ?
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा सशांक कोइरालाको जन्म २०१५ सालमा विराटनगरमा भएको हो ।
लामो समय चिकित्सा पेसामा संलग्न आँखा रोग विशेषज्ञ डाक्टर कोइराला ०४६ सालको जनआन्दोलनमा चिकित्सकहरूका तर्फबाट सहभागी थिए । परिवारसँगै २०१७ देखि २०३६ सालसम्म निर्वासित जीवन बिताएका कोइराला ०६७ को १२ औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका थिए ।
उनी नवलपरासीबाट ०६४ र ०७० को दुइटै संविधानसभामा निर्वाचनमा विजयी भएका हुन् ।
को हुन् सीतादेवी ?
माओवादीले पति चन्द्रनारायण यादवको ०५७ मा हत्या गरेपछि सीतादेवी यादवको राजनीतिमा प्रवेश भएको हो ।
सीताका पति चन्द्रनारायण सिरहा कांग्रेस राजनीतिमा सक्रिय र जिविसका पूर्वसभापति थिए । उनको हत्यापछि ०५७ सालयता सीतादेवी पार्टीको जिल्ला सभापति छन् ।
२०१२ सालमा उनको जन्म भएको हो । ०६३ सालमा संसद पुन:स्थापनापछि पार्टीले उनलाई विधायकमा मनोनीत गरेर ल्याएपछि यादवको संसदीय राजनीति प्रारम्भ भएको हो । ०६४ को संविधानसभामा पराजित उनी दोस्रो संविधानसभाको निर्वाचनमा सिरहाबाट विजयी भएकी हुन् ।
Reference: Kantipur