-काशिराज पाण्डे
गाउँलेले पहिलेदेखि नै भनेका हुन्, आफुजस्तै उही ठुलो पँधेरोको पानी खाएको चम्किलो तारा ‘ठुले’ एकदिन समाज र देशकै भरपर्दो ढाडस बन्नेछ। गाउँमा जसको-जे काम परे पनि अघि सरिहाल्ने असाध्यै सहयोगी थियो ठुले। आफुभन्दा सानाहरुलाई संगै स्कूल लिएर जान्थ्यो। शिक्षकहरु सबैको आँखाको नानी उ। बुढापाकाको साह्रै आदर गर्ने। बिदाको दिनमा घरको काम त केहि भन्नै नपर्ने। घाँस-दाउरा, पानी-पँधेरो सबैमा निपुण थियो। यसपालीको बर्खे-बिदामा त उसले मेला-पर्ममा कोदालीनै चलाएर आफुलाई गाँवै-भरी पक्का लाठेको रुपमा चिनायो।
ठुलेले यसैपाली हो, पल्लो गाउँको स्कूलबाट एसएलसी पास गरेको। सरहरुले कोर्ष नसिध्याइदिए पनि अंग्रेजी, गणित र विज्ञान सबैमा राम्रो नम्बर ल्याएको थियो। नेपाली त उसलाई एकचोटी सरर्र पढे पुग्ने। उमेर त्यस्तै १५ बर्ष जति मात्रै भएथ्यो तर मान्छे भने उ जवान देखिन्थ्यो। उसको घरमा कोहि जागिरे थिएनन्। भुराभुरी हुर्कने क्रममा भएकाले घरका हरेक चाडबाड सर-सापटीबाट नै चलाउन परेको देख्थ्यो, उसले। त्यो वर्षको दशैँ त झन् झरी परेर अरु खल्लो भएको थियो।
त्यसैले पनि होला यसपाली उसले बाटामुनि साइँलासंग सुटुक्क पछि लागेर शहरतिर जाने सुर कस्यो। यस्तो कुरो उसकी आमाले चाल नपाउने कुरै भएन।
मनमनै सोचिन् मनमायाँले – ‘भरै बुढा संग सल्लाह अर्नपर्ला।’
त्यसदिन बेसीबाट दुखप्रसाद अलि ढिला आइपुगे घर। बेलुकाको खाना खाने बेला भयो। ठुलाहरुको भागमा एक-एक घाँन मकै थियो। सानालाई भर्खरै भित्र्याएको घैयाको भात। मनमायाँ भने सबैको अपुङ्गी थालको छेउमा अलि-अलि तिउन राख्थिन् र भन्दै थिइन्: ‘अहिलेलाइ ठुले पनि हामीसंगै बस्, बाँकी रह्यो भने तँ पनि भातै खालास्।’ ठुला तीनजना लाइ आ-आफ्नो अगाडीको चरेशका कचौरामा उही दिन पारेको मही चहिएजति खन्याउँदै पिउन छुट थियो भने सानाहरुलाई सिलबरको बटुकोमा थोथ्थोरै दुध थियो।
सँधैझैँ खानपिन पछि यसो पारिवारिक गन्थनको बेला आयो। कुरो शुरु गरिन् बुढीमाउ आफैले:
‘ठुलेको मन थीर छैन जस्तो छ। के भा’थ्यो घरमा भनेर तल्लाघरे साँइलाले सोध्दैथिए। उनी भोली नै शहर फर्किने रे।’
‘किन र ? कसरी आयो यो कुरो ? के भन्या थिइस् र ठुले, उसलाई?’ बा’ले सोधे।
ठुलेले मुख फोर्यो: ‘एक त शहर जान पाए क्याम्पस पढ्न पाइन्थ्यो कि भन्ने आशा हो। अर्को, सँधै हाम्रो घरमा खान-लाउन दु:ख छ। म पनि अब आफ्नो योग्यता अनुसारको काम गरेर अलि-अलि पैसा कमाउन सक्ने भैदे साइँलादाइको घरमा जस्तै मीठो खाएर कमसेकम अर्को दशैँ त भाइ-बहिनीहरुसंग रमाइलो संग मनाउन पाइन्थ्यो जस्तो लाग्यो। अनि शहरमा काम पाइन्छ कि भनेर सोध्या’थिँ।’
‘ए। … भै’जान्छ नि त त्यसो भए। अब छोरोले घरको कुरो बुझ्न थालो।’ बा’को मन्जुरी सजिलै पायो ठुलेले।
मनमायाँले थपिन्: ‘लौ बा’ले नै त्यसो भन्नुभए’सि जाउ न त। तिमी नै हाम्रो हुर्केको सन्तान भएकोले यसो चाडबाडमा चाहिँ घर आउनपर्छ है, ठुले।’
यसरी नै हो ठुलेले कलिलो उमेरमै घरबाट परदेशिने अनुमति पाएको।
**************
‘घरमा जे छ, बाटालाई खाजा राखिदिएकोछु। यो सिद्दिएपछि खानपिनमा जे-जसो परेपनि जनै चाहिँ कहिल्यै नफालेस्। बाहुनको छोरो होस् बाबु। फेरि कर्म चलेको जेठो-बाठो पनि।’ भन्दै आमाले दुइमाना घ्यु, अलिकति गुन्द्रुक, एकपाथी जति चिउरा र तीलको छोप राख्दिइन् खद्दरको झोलामा।
‘नागरिकता र मार्क-शीट चाहिँ राम्ररी जतन गरेर राखेस् नि’ बा’ले थपे। ‘हस्’ भन्दै ठुलेले ती कागजपत्र लाइ प्लास्टिकले बेरेर पोको पार्यो।
भोलिपल्ट बिहान बिस्तारै गौरीशंकर हिमालको टुप्पोमा मुस्कान छाऊँदै थियो। भाइ-बहिनी उठ्न भन्दा पहिले नै ठुले साइँलासंग शहरतिर लाग्यो। बा-बुढा गोठतिर भकार सोर्न थाले। भुरा पनि बिस्तारै बिउँझिदै गए। जब उनीहरुले ठुले शहर गएको थाहा पाए, एकनासले स्वर मिलाए: ‘अब हाम्रा ठुल्दाइले पनि चकलेट ल्याउँचन्, है आमा?’
मनमायाँको मुटुमा गाँठो पर्नु र आँखाबाट नुनिलो पानी झर्नु एकैचोटी भयो।
*****
घरबाट हिँडेको दिन बेलुका दुबैजना सदरमुकाम सम्म पुगे र एकजना चिनेको मान्छेको घरमा बास बसे। पहिलो चोटी हो ठुले, यसरी अर्काकोमा बास बसेको। दिनभरिको थकाइले पनि होला, उसलाई बेलुकाको भोजन र रातीको निद्रामा कुन धेरै स्वादिलो भनेर छुट्ट्याउन गाह्रो भो। भोलिपल्ट बिहानै उठे र पहिलो बसमै लागे दुइभाइ काठमाडौँ तिर। धन्नै एक-जुवा घाम छँदै हो उनीहरु थानकोट उक्लेको। बाटाभरी चेकिङ् र जामले उनीहरु चढेको मटरको मेलो ढिलै सर्यो। झन् कालिमाटी पुग्दा त झिमिक्कै भएथ्यो। त्यो साँझ कालिमाटीबाट टेकुसम्म भित्रिबाटो हिँड्दै एकजना गाउँकै मान्छेको डेरामा बास बसेको ठुलेलाई राम्ररी याद छ। त्यतिबेलै देखि हो, उसले शहरका मान्छेले पानी समेत कम खाँदार’छन् भन्ने था’पाको।
भोलिपल्ट ठुलेलाई त्यहिँ छाडेर साइँलो आफ्नो जागिरतिर लम्क्यो। सजिलोसंग तत्काल काम पाएन ठुलेले। शहर पुगेपछि काम आफै खोज्न पर्छ भनेर साँइलाले ठुलेलाई पहिलेनै जानकारी गराएको थियो।
बिद्युत कर्पोरेशन, ब्याङ्क, होटेल र बोर्डिंग स्कूल जताततै भौँतारियो उ। दिनदिनै पत्रिकामा बिज्ञापन हेर्थ्यो। कतै काम खुलेको भए ढिला नगरी निबेदन हाल्थ्यो। धेरैनै आशावादी भएर लोकसेवामा पनि फाराम भरेको हो उसले, एकचोटी। जे-पायो त्यहि टिप्टापे ज्यालादारी गरेर जम्मा गरेको पैसो खुब सक्यो यसरी ठुलेले- निबेदन-शुल्कमा। कहिँ-कतै पनि उसको ‘लक्’ लागेन। उनीहरुले नै शुल्क लिएर बेचेको निबेदन पेश गर्दा पनि सर्ट-लिस्टमा नपर्दा शहरका मान्छेहरुप्रतिको उसको विश्वास घट्दो भयो। तैपनि उसले भित्री-कुरो राम्ररी बुझेको थियो। कतै उ आरक्षणमा परेन त कतै उसको अनुभव र चिनजान थिएन। बसपार्क देखि कालीमाटी तरकारी बजारको कुल्ली काम सम्म उसले गर्यो। जसो-तसो उसको साँझ-बिहान टर्दै त गयो तर सोचेजस्तो शहर उसले पाएन।
ठुलेले दुइ-तीन महिना जति डिल्लिबजारतिरको एउटा घरमा सफा-सुग्गर र रेखदेख गर्ने काम पनि गर्यो। पाँच तल्ले घर थियो। थुप्रै कोठाहरु थिए। हरेक कोठामा छुट्टा-छुट्टै मान्छेहरु भाडामा बस्थे। महिना शुरु भएको दिन ठुलेको चटारो बढ्थ्यो। कोठा-कोठामा गएर जम्मा पारेको घरभाडाको हिसाब-किताब संगै-जोडिएको बंगालामा बस्ने घर-मालिक्नीलाइ बुझाउनु पर्थ्यो। कोहि-कसैले ‘अहिले छैन वा भोली-पर्सी दिन्छु’ भन्दे भने ठुलेले यी सबै नालीबेली जस्ताको तस्तै भन्न पर्थ्यो, घरपेटीलाई। धेरैले त आलटाल गर्दै भाका सारिरहन्थे। एउटा कोठाको मान्छे यसै गरेर दुइ-दुइ महिनाको भाडा नदिइ भागेछ। अनि के चाहियो र? बेमान गर्यो एउटाले कारवाहीमा पर्यो, ठुले। ठाउँको ठाउँ सिद्दियो ठुलेको जागीर। ‘के हेरिथिइस् – यसरी डेरामा बस्ने मानिस भागुन्जेल?’ भनेर ठुलेको सात्तो लिइन् घरपेटी साहुनीले। घरका मालिकको भने अलि कमलो मन रहेछ र धन्न पाकेको तलब चाहिँ उसलाई मिल्यो। ठुलेले यसरी आफ्नो मुल्य ‘एउटा कोठाको भाडा भन्दा पनि कम’ देख्यो। तैपनि ढिलो नगरी त्यहाँबाट बाटो ततायो।
ठुलेलाई फेरी काम खोज्ने टेन्शन भो। जे काम पाए पनि गर्न तयार भयो। मैतीदेवीको मन्दिरनेर एउटा बन्दै गरेको घरमा बालुवा चाल्ने काम पायो। कमाइको हिसाबले ठुलेलाइ यो काम ठिकै लाग्यो। दिउँसो-दिउँसो काममा खट्ने अनि राती सामान कुर्ने गर्यो। यसो गर्दा खाने-बस्ने व्यवस्था ठेकदारले नै गरिदिएको थियो। ‘र त दिउँसोको ज्याला चोखो बच्छ’ भन्ने ठुलेको बुझाई थियो। त्यहाँ झन्डै एक महिना जति बस्यो, ठुले। त्यसैबेला हो उसले ज्यामी काम गर्दा-गर्दै अलि अलि गारो लगाउन पनि सिकेको।
जब कामबाट अलिकति फुर्सद हुन्थ्यो, ठुले आकाशतिर हेर्थ्यो। खुला आकाशमा चरा उँडेको देख्दा उसलाई आनन्द आउँथ्यो भने बेला-बेला त्यतै तिर जहाज देखा पर्दा उसलाई खुब छटपटी हुन्थ्यो र भन्थ्यो आफैलाई ‘आ… दुखै गर्ने हो, बरु अरबतिर पो जान पर्छ क्यारे !’ उसले यहि कुरो एकदिन साँइलासंगको भेटमा पनि गर्यो। साँइलो भन्थ्यो: ‘यसो नजिकको म्यानपावरमा गएर बुझ्दैमा के जान्छ र?’ कुरो बुझ्न शुरु गर्दैमा उसको दाँतमा ढुङ्गो लाग्यो। उसले त्यतातिरको खर्च चर्को छ भन्ने राम्ररी चाल पायो। त्यसैबेला देखि हो उसले माथितिर हेर्न छाडेको पनि।
हरेक दिन बेलुकी सुत्न भन्दा पहिले उ आफ्नो पाकेको रकम जोड्दै जान्थ्यो र जम्मा भएको पैसा लिएर दशैँमा घर जान पर्ला भनेर सोच्थ्यो। अक्सर ठेकदारसंग पैसोको कुरो गर्दा उसले ‘पख-पख, तिम्रो पैसा एकैचोटी दिम्ला।’ भन्ने जवाफ पाउँथ्यो र उ पनि ढुक्कै हुन्थ्यो। धेरै चोटी त उसले भाइ-बहिनीहरु र बा-आमाको लागि ‘नाना-थरी’ सर्दम् किनमेल गरेको सपना पनि देख्यो। तर एकदिन सबेरै ठुलेले ठेकदार भागेको समाचार पायो। घरको साहुले पनि ‘मैले बेला-बेलामा ठेकदारलाई सबै हिसाब दिएकै हो। मेरै पैसा बढी लिएर गयो, अब सबै मिलेर पुलिस-रिपोट गरौँ।’ भन्न थाले। सबै मिस्त्री र ज्यामीहरुको रुवाबासी भएको ठुलेले देख्यो र सोच्यो – ‘अब त्यहाँ बसेर के काम? यो सबै उख्-जन्मको ऋण तिर्न मेरो कर्ममा लेखेको- खाउँन् लौ पसीना’ भन्दै त्यहाँबाट मुटु गह्रुङ्गो बनाएर ठुले हिँड्यो। घरबाट ल्याएको घ्यु र चिउरा संगसंगै उसको क्याम्पस पढ्ने आशा पनि सिद्धियो। दशैँको मुखमा उ बेखर्ची भयो। केहि समय यत्तिकैमा बित्यो। तैपनि ठुलेले सोच्यो: ‘अब एकैचोटी घर गएर फर्केपछि अर्को नयाँ काम थाल्न पर्ला।’
बेला-बखत ठुलेले उसको गाउँबाट समाचार पाइरहन्थ्यो। उसका बा-आमा दशैँमा ठुले पक्कै केहि राहत लिएर घर आउँछ भन्नेमा उता ढुक्क थिए। दुखप्रसाद गत-साल भन्दा अझै बढि फुर्तिलो भएर गाउँबाट बाबियो बटुल्दै पिङ् हाल्न कस्सिएका थिए। मनमायाँ पनि निकै हँसिली देखिन्थिइन्। भुराहरु चाहिँ गाउँघरका दौंतरी बटुलेर ‘हाम्रो ठुल्दाइ आउँचन्; नाना-चाचा ल्याउँचन्’ भनेर नारा घन्काउँदै बेला-बेला आँगनमा नाँचिरहन्थे।
एकाएक ठुलेको मन भने अलि बढी नै चंचल भयो। एकदिन गौशालातिरका सज्जनको घरमा दशैँभरि पुजा-आजा गर्ने काम जानेको मान्छे चाहिएको कुरो ठुलेले सुन्यो र उ गयो पनि त्यता। त्यस घरका एकजना बिरामी मान्छे लामै समय देखि अस्पतालमा भएकाले दशैँभरि नित्य पुजा-पाठ गरिदिने मान्छे चाहिएको कुरो ठुलेले बुझ्यो।
छोटो कुराकानीमै ठुलेको जन्म-जात मात्र बाहुन हो भन्ने कुरो सज्जनले थाहा पायो। त्यस्तै उक्त कामको लागि जनै-धारण भन्दा माथिल्लो योग्यता उसमा नभएको कुरो पनि सज्जनले सजिल्यै बुझ्यो। अनि खरर पाठगर्ने गरी संस्कृत पनि त ठुलेले कहाँ पढेको थियो र? त्यहाँ न त उस्को मार्कशीटको काम आयो न उसले देखे-जानेको पेशा कृषीको नै। त्यसैले त्यहाँ कुरो मिलेन। सुनेको थियो, चिन्ता परेपछि मन्दिरतिर जानु रे। मनमा धेरै नै चिन्ता परेर पनि होला- उ लम्क्यो आर्यघाटतिर।
अरुले जस्तै उसले पनि पशुपतीनाथको दर्शन गर्यो। दिनभरी त्यतै बस्ने निधो गर्यो। बाँच्ने र मर्नेहरुलाई राम्ररी नियाँलेर हेर्न थाल्यो। बेलुका डेरामा फर्क्यो र धेरै बोलेन साथीहरुसंग पनि। उसले एकबर्ष पहिले घरमा गरेको सबैकुरो सम्झ्यो। एकजना गाउँको मान्छे दशैंको लागी घर जाने कुरो सुन्यो। सोच्यो: “दशैँ आउन मात्रै एक हप्ता बाँकी छ।” उसैको हात घरमा चिठ्ठी पठाइदिने निर्णय गर्यो।
किन हो भोलिपल्ट उसलाई फेरी आर्यघाटतिरै जान मन लाग्यो। अघिल्लो दिन जस्तै पशुपतीनाथको दर्शन गर्यो। दिनभरी फेरी त्यतै बस्ने निधो गर्यो। बाँच्ने र मर्नेहरुलाई राम्ररी नियाँलेर हेर्न थाल्यो। एक्कासी उसको आँखा अघिल्लो दिन गौशालामा भेटेको सज्जनको नजरमा पर्यो। सज्जन केहि-कसैको तिब्र खोजीमा लागेको देख्यो। एका-बिहानै त्यसैदिन ती सज्जनका पिताजीको स्वर्गे भएको कुरो उसले बुझ्यो। एकछिन उसले त्यतै हेरिरह्यो।
‘दशैँको बेला छ, जनै लगाका मान्छे शहरमा पाउनै गाह्रो। सबै भाडाका बाहुनहरू पूजापाठमा ब्यस्त छन् रे ठुलाबडाका घरहरुमा। अफिसको काम जति बितेपनि आफ्नो बा’को १३ दिनको दु:ख अब हजुरले नै बोक्न पर्ला जस्तो छ।’ यसरी नै सज्जनप्रति लक्षित भीड गुन्गुनाएको ठुलेले सुन्यो र मनमनै गम्यो: ‘हौ, हात उठाउन पो पर्छ क्यारे?’
ठुले भीडको नजिक गयो र भन्यो। ‘मलाइ छ फुर्सद। जन्म-जात बाहुन पनि हुँ। ई.……जनै लगाको छु। फेरी यसपाली म दशैँमा घर पनि जान्नँ, मैले बा’लाइ आजै चिट्ठी पठाइसकेँ।’
***********
भवतु सब्ब मङ्गलम्।
२०७२/१२/१९ – पर्थ, अस्ट्रेलिया।